आज सहिद दिवस तर नेपालको प्रजातन्त्र हरण गर्ने राजा महेन्द्रमाथि वम प्रहार गर्ने दुर्गानन्द झाको कुनै चर्चा छैन । २०१८ माघ ९ गते जनकपुर घुम्न गएका बेला राजा महेन्द्रमाथि बम प्रहार गर्ने भर्खर युवालाई सुन्धारास्थित केन्द्रीय जेलमा २०२० माघ १५ गते फाँसीमा चढाई गोली हानी निर्मम ढंगले यातना दिई हत्या गरेको थियो । त्यसलाई मृत्यू दण्ड भनिएपनि त्यो हत्या नै थियो । बम प्रहार गरी प्रवास भागेका दुर्गानन्द झा तीन महिनापछि आफै गिरफ्तारी दिनुभएको थियो ।
काठमाण्डांैमा भएको पर्चा काण्डको अभियोगमा वि.सं. १९९७ साल माघ १० गते शुक्रराज शास्त्री, १३ गते धर्मभक्त माथेमा र १५ गते गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई मृत्युदण्ड दिइएकाले २००७ सालमा प्रजातन्त्र स्थापनापछि २००८ सालदेखि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउन थालिएको थियो र आज पनि माघ १६ लाई शहीद दिवस मनाइन्छ । तर त्यसको एकदिन अगाडि मारिएका दुर्गानन्द झालाई राज्यले त के कुरा काँग्रेस पार्टीले समेत सम्झेका छैनन् । काँग्रेसले दुर्गानन्दलाई आफ्नो भनेपनि सम्मान भने कहिले दिएन । २०१७ पुस १ गते राजा महेन्द्रले संसद र संसदीय सरकार विघटन गरेकोले शहीदहरुका रगतले प्राप्त लोकतन्त्रको पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले संघर्ष आरम्भ गरेका थिए र सोही संघर्षमा लागेर दुर्गानन्दले सहादत प्राप्त गरेका थिए ।
नेपालकै इतिहासमा प्रथम बम काण्डको अनुसन्धानको नाममा ५९ जनालाई समातेर अनेक यातना दिइएको थियो भने त्यसदिन जनकपुुर विमानस्थलमा काँग्रेसका अर्का क्रान्तकारी योद्धा अरविन्दकुमार ठाकुरलाई त्यसअघि नै बमको साथमा पक्राउ गरिसकेको थियो । बम काण्डमा निर्दोष मानिसहरुलाई भयंकर कुटपिट गरी अनेक यातना दिदै गरेको खबरले दुर्गानन्द झा तीन महिनापछि एक दिन स्वयं जयनगरबाट रेल्वेमा समातेर गिरफ्तारी दिन जनकपुरधाम फर्केका थिए समातिएको दिन जलेश्वर जेल पुर्याइएको थियो । अर्को दिन परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकप्टरबाट काठमाण्डौं पुरयाई नेपाल विशेष अदालतद्वारा २०१९ भाद्र २४ गते कुनै सुनवाई नै नगरीकन मृत्युदण्ड दिने फैसला गरिएको थियो । जो पछि सर्वोच्च अदालतद्वारा सदर गरी २०२० माघ १५ गतेको राती सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी हत्या गरिएको थियो । त्यसअघि २०२० भाद्र १ गते दुर्गानन्द झाकै कारण मुलुकी ऐनलाई संशोधन गरिएको थियो कारण थियो त्यसअघि कुनैपनि ब्राम्हण, महिला, सन्यासीलाई मृत्युदण्ड नदिइने नीति ऐनमै उल्लेख थियो तर दुर्गानन्द झा ब्राहमण भएको कारण ऐनलाई नै सशोधन गरी मृत्यूदण्ड दिएको थियो ।
धनुषा जिल्लामा जटही निवासी पं. भोलानाथ झाका तीन छोराहरुमध्ये जेठो देवनारायण झाको एक मात्र सन्तान दुर्गानन्द झाको जन्म वि.सं. १९९९ साल वैशाख शुक्ल एकादशी १४ गते भएको थियो । त्यसबेला नेपालमा विद्यालय नरहेकाले नेपाल भारत सीमानामा रहेको उमगांवस्थित माध्यमिक विद्यालयमा अध्ययनरत रहँदै २०१५ सालको प्रथम आम निर्वाचनको प्रचार प्रसारमा सकृय रहनु भएको यूवा छात्र दुर्गानन्द झामाथि प्रजातन्त्रको हत्याको निकै दुष्प्रभाव परेको थियो । भारतीय स्वतन्त्रता संग्रामका वीर भगत सिंह र चन्द्रशेखर आजादको जीवनीबाट प्रभावित भएर उहाँले लोकतन्त्रका हत्यारा तानाशाहको हत्या गर्न आफ्ना घर परिवार र नवविवाहिता श्रीमतिलाई छाडेर २० वर्ष नपुग्दै जनकपुुर बम काण्ड गरेर इतिहासमा स्वर्णाक्षरले अंकित भएका थिए ।
आफ्ना पिताका तीन दाजु भाईका एक मात्र उत्तराधिकारी तथा २०१७ सालको विवाह पंचमीको दिन काशीदेवीको साथ प्रणय सूत्रमा बाँधिनु भएका दुर्गानन्द तानाशाहीसित माफी नमागेर २१ वर्ष ९ महिनाकै कलिलो उमेरमा लोकतन्त्रको लागि बलिदान हुनु भएका थिए । देशमा लोकतन्त्र स्थापनासाथ २०६५ अषाढ ९ गते जनकपुर बौद्धिक समाजद्वारा बम काण्डस्थलमा अमर शहीद दुर्गानन्द झाको स्मारक निर्माण गर्न एक सात सदस्यीय निर्माण समिति गठन गरी प्राप्त जनसहयोगबाट स्मारक निर्माण गर्न २०६६ श्रावण २१ गते अमर शहीदकी धर्मपत्नी काशीदेवी झाद्वारा शिलान्यास गराइसकिएको छ । तर जानकी मन्दिर महन्थले २०६६ श्रावण ९ मा लिखित रुपमा स्मारक निर्माण गर्न जग्गा उपलब्ध गराइसकेको पत्र हुँदा हुंदै पनि २०६७ चैत्र ३ गते एक जनाको रिट निवेदनमा जनकपुर पुनरावेदन अदालतले चैत्र ८ गते निर्माण माथि रोक लगाएर कार्य ठप्प पारिएको थियो । जो अव खारिज नै भइसक्यो । अतः नेपालका प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाका स्मारक निर्माणतिर सबैले ध्यान दिनु आवश्यक छ ।
माघ १५ गतेको अवसरमा राजधानीमा मिथिलाक अनुपम डेगले आयोजना गरेको एक कार्यक्रममा मधेशका नेता तथा पत्रकार र बुद्धिजिविले दुर्गानन्द झालाई सहिद घोषणा नगरेकोप्रति आक्रोश पोखे । तराई मधेश लाकेतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दुर्गानन्दलाई सहिद घोषणा गराउन प्रधानमन्त्रीलाई पनि गुहारेको बताउनु भयो । उहाँले दुर्गानन्द झा मधेशको मात्र नभएर देशकै योद्धा थिए यसमा कुनै दुई मत छैन र सोही अनुसार सम्मान पनि पाउनुपर्ने धारणा राख्नुभयो ।
प्रजातन्त्र पुनःबहालीका बलागि उहाँले गरेको क्रान्ति सदा स्मरणीय रहने बताउँदै उहाँले देशले दुर्गानन्दलाई सम्मान नगरेपनि आफूहरुले गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनले दुर्गानन्द झालाई सहिद घोषणा गर्न नसक्नु भनेको मधेशीको अपमान भएको बताउनुभयो । उहाँले दुर्गानन्दलाई सहिद घोषणा गरेको छैन भने मधेशीलाई आफ्नो अपमान सम्झिनु पर्छ किनभने आज उहाँ मधेशी नभएर एउटा बाहुन पहाडि समुदायबाट भएको भए आज उहाँको जय जय हुन्थ्यो तर मधेशी भएकै कारण उहाँलाई सहीद नबनाएको कुरामा प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, गणतन्त्र स्थापना यता जो पाए त्यहीलाई सहिद घोषणा गरे तर देशका लागि यत्रो बलिदानी दिएका व्यक्तिलाई सहिद घोषणा गर्न कसले रोकेको छ केले रोको छ । नअहिले सवैधानिक राजतन्त्र छ जसले राजामाथि बम प्रहार गरेको कारणले सहिद बन्नबाट रोकोस् ।
उहाँले अहिले राजामहाराजाको नामोनिसान छैन अनि को हो रोकावट ? सहजै बुझ्न सकिन्छ यहाँका शासकमा अहिले पनि मधेशीप्रतिको मानसिकतामा परिवर्तन नआएको बताउनुभयो । दुर्गानन्द झा सरकारी सहिद नभएपनि वास्तविक सहिद उहाँ नै हो । उहाँलाई सहिद घोषणा नगरेपनि जनताले उहाँलाई सहिद मानेकै हो । जनजनको मनमा दुर्गानन्दले बास गरिसकेका हुनाले सहिद घोषणा हुनै पर्छ भने छैन । दुर्गानन्द नेपालका सहिद हुन र रहि रहने बताउनुभयो ।
पत्रकार अजय शाह सिवालीले दुर्गानन्द झा मधेशी भएकै कारणले हालसम्म सहिद घोषणा नगरेको बताउँदै दुर्गानन्द झामाथि विभेद हुनु भनेको मधेशप्रतिको विभेद भएको बताउनुभयो । उहाँले दुर्गानन्द झा जुन बेला क्रान्तिमा लाग्नु भएको थियो त्यो बेला मधेश र मधेशीका लागि होइन पुरै देशका लागि लाग्नु भएको बताउनुभयो । नेता उपेन्द्र झाले दुर्गानन्द झालाई राज्यको तर्फबाट मृत्यूदण्ड दिएको आज ५० वर्ष भयो तर अहिलेसम्म सहिद घोषणा गर्न नसक्नु मधेशीमाथि यो भन्दा ठुलो विभेद के हुने टिप्पणी गर्नुभयो ।
उहाँले यसमा मधेशीको पनि कम बहादुरी छैन, विभेद सहनुमा मधेशीको पनि बहादुरी रहेको उल्लेख गर्दै त्यसबेला मधेशी कमजोर थियो, मधेश कमजोर थियो तर गणतन्त्र आएपछि त मधेशी एकप्रकारले शक्तिमा आएकै हुन् ठाउँमा गएकै हुन् अनि किन भएन दुर्गान्द झा सहिद घोषणा यसको जिम्मेवारी कसले लिने प्रश्न गर्दै उहाँले १३००० हजारसहिदमा दुर्गानन्द झा किन अँटाएन यसको जिम्मा कसले लिने, गाडिबाट किचिदाँ सहिद हुने, लोग्ने स्वास्नीको झगडामा मारिदा सहिद हुने, कुनै व्यक्तिगत झगडामा हत्या हुँदा सहिद हुने तर प्रजातन्त्रका लागि, प्रजातन्त्र जोगाउनका लागि प्रजातन्त्र हरणकर्ता महेन्द्रमाथि बम प्रहार गर्ने दुर्गानन्द झालाई सहिद घोषणा गर्न नहुने यो कस्तो न्याय उहाँले भन्नुभयो ।
पत्रकार ह्रदयकान्त झाले नेपालको आजसम्मको इतिहासमा सहिदमाथि राजनीतिक भएको बताउँदै आफूलाई लाग्छ दुर्गानन्द झामाथि पनि राजनीतिक भयो र त्यो राजनीतिक खेलमा मधेश पछाडि रहको बताउनुभयो । युवा नेता मनिष मिश्रले दुर्गानन्द झा लोकतन्त्रका लागि बलिदानी दिनु भएको धारणा राख्दै उहाँले भन्नुभयो, सारा नेपालीको कल्याणका लागि बलिदानी दिएका हुन् भने उहाँमाथि विभेद किन ? उहाँमाथि मधेशीकै कारण विभेद भएको हो भने यसको दोष मधेशी नेतामाथि पनि जान्छ । यत्रो पावरमा हुँदा हुँदै किन सहिद घोषणा गराउन सक्नु भएन ।
उहाँले मधेशवादी दलका नेताहरु चाहेको भए सायद हुन्थ्यो नचाहेर मधेशवादी दलहरु पनि दुर्गानन्द झामाथि विभेद गरेकै हो बताउनुभयो । १८ वर्षको उमेरमा देशका लागि बलिदानी दिनु चानचुने कुरा थिएन उहाँले भन्नुभयो, सारा नेपाली युवाको प्रतिनिधित्व पात्र हुन् हामी सबै युवालाई उहाँमाथि गर्व छ । त्यसैले मधेशका युवाले नै अब उहाँलाई सहिद घोषणा गराउनका लागि संघर्षमा जानुपर्छ । हामी पनि दुर्गानन्द झा बन्न तयार हुनुपर्छ ।
युवा नेता शिवजी सोनीले भन्नुभयो, ५० प्रतिशत मधेशी मन्त्री हुँदा पनि दुर्गानन्द झालाई सहिद घोषणा गर्न नसक्नु यो जस्तो विडम्बना अरु के हुनसक्छ । दुर्गानन्द झा सारा देशको थियो तर देशले उहाँलाई स्विकार गर्न सकने अब मधेशले स्विकार गर्नुपर्छ । मधेशले आफ्नो बनाउनु पर्छ । अहिले पनि केही विग्रेको छैन ।
उहाँले अहिले पनि मधेशसँग ५० जना सभासद्हरु छन् । ५० जनासभासद् एक ठाउँमा उभिएर यदि कुनै कुराको चाहना राख्यो भने त्यो अवश्य पुरा हुने कर्त गर्नुभयो । तर, इमान्दारीका साथ लाग्नुपर्ने उहाँको सुझाव थियो ।
अर्का युवा नेता सञ्जिव झा (विद्रोही) ले वभिन्न दलका युवा सम्मलित संयुक्त युवा संगठन गरी मधेशका विभिन्न माग ज्ञापनपत्र तयार गरेका थियौ त्यसमा पहिलो नम्बरमा दुर्गानन्द झालाई सहिद बनाउनुपर्छ भनि माग राखेको स्मरण गराउँदै आफूले त्यसबेला ६०१ जना सभासद्लाई ज्ञापनपत्र बुझाएको पनि बताउनुभयो । उहाँले अहिले पनि केही विग्रेको छैन । उहाँलाई सहिद घोषणा गराउनका लागि अमरण अनसन बसौं जबसम्म सहिद घोषणा गर्दैन तबसम्म अनसन तोड्नु नहुने धारणा राख्नुभयो ।
पत्रकार अमरेन्द्र यादवले दुर्गानन्द झाले देशको समग्रहितका लागि बलिदानी दिनुभएको थियो तर विभेदका शिकार बताउनुभयो । उहाँले भन्नुभयो, देशका लागि बलिदानी दिएपनि मधेशी भनेर उहाँमाथि विभेद भयो । दुर्गानन्द झाको नाममा आज पुरै देश उत्सवमै हुनुपर्ने थियो । राज्यस्तरबाट कार्यक्रम हुनुपर्ने थियो तर विडम्बना कुनै मिथिला नामको संस्थाले दुर्गानन्द झालाई सम्झिदैछ, त्यो पनि सानो कोठमामा । सहिदलाई पनि जातिवादले छाडेन । जातिवादीको चश्माले पनि सहिदलाई हेर्न थालेका छन् ।
उहाँले मधेशी जनअधिकार फोरम नेपालको कुनै कार्यक्रम भयो भने त्यहाँ रमेश महतोलगायतका सहिदहरुको तस्विर हुन्छ भने तराई मधेश लोकतान्त्रिक पार्टीको कुनै कार्यक्रममा दुर्गानन्द झा, विद्यापतीलगायतका तस्विर राख्ने गरेको प्रति आक्रोश पोख्नुभयो ।
लेखिका तथा प्रध्यापिका मञ्चला झा नारी मनको संवदना कस्तो हुन्छ भनि दुर्गानन्द झाका श्रीमती काशी देवी झाको सम्झना आउँने गरेको बताउनुभयो । विवाहपछि श्रीमानसँग राम्रोसँग बस्न समेत नपाएका काशी देवी झा १६ वर्षकै उमेरका हुँदा दुर्गानन्द जेल परेपछि उहाँको मन कति रोए होला भनि एक संवेदनशिल महिला मात्र बुझ्न सक्ने बताउँदे उहाँले काशी देवीले विरहका कति गीत गाएका होला । काशी देवी झाले आफ्नो नारी संवेदना कसरी मारेका होला सम्झँदा नै जीउ सिरिगं हुने गरेको पनि सुनाउनु भयो । उहाँले राज्यले दुर्गानन्द झामाथि कतिको विभेद गरे भने कुरा यो कुराले पनि पुष्टि भएको उल्लेख गर्नुभयो ।
कलाकार हरिशंकर चौधरीले देशको मुक्तिका लागि, स्वतन्त्रताका लागि हाँसी हाँसी मृत्यू स्विकार गरे चढे तर देशले सम्मान दिन सकेन यो जतिको दुर्भाग्य अरु के हुन सक्छ । राज्यले सहिद घोषणा गर्न सकने, उनीहरुले मधेशी भनेर विभेद गरे तर मधेशी पनि शक्तिमा आएको बताउनुयभो । त्यस्तै गोपाल झाले सहिद कहिले मर्दैन त्यसैले काशी देवी झा विधवा भएको छैन उहाँ सधवा नै हुनुहुन्छ । दुर्गानन्द झा सहिद होइन भने कुरा कसले भनेका छन् । मैले त सुनेका छैन कि दुर्गानन्द झा सहिद होइन भनि धारणा राख्नु भएको थियो ।
पत्रकार रामनारायण देवले पंचायती निरकुंशताका प्रथम सहिद हुन् दुर्गानन्द झा । प्रवासबाट सशस्त्र क्रान्तिको शुरुवात भएको थियो । जसको अगुवाई दुर्गानन्द झाले गर्नुृभएको धारणा राख्नुभयो । उहाँले भारतमा अध्ययनरत हुँदा नेपाली विद्यार्थी संघ गठन गरेका थियौं रामचन्द्र सिहको अध्यक्षतामा । त्यसमा दुर्गानन्द झा पनि भएको धारणा राख्नुभयो । उहाँको क्रान्कारी विचार र जोश देखेर हामी पनि छक्क पथ्र्यौ देवले भन्नुभयो । उहाँले देशमा १३ हजारभन्दा बढी सहिदहरु भए तर त्यसमा दुर्गानन्द झाले ठाउँ नपाउनु दुर्भाग्य हो । देशका लागि बलिदानी दिएका दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्नुपर्ने विचार राख्नुभयो ।
पत्रकरा एवं नेता रामरिझन यादवले भन्नुभयो, दुर्गानन्द झालाई राज्यले फाँसी दिएको आज ५० वर्ष भयो । गोल्डेन जुवली मनाउनेपर्ने थियो तर राज्य मौन छ । त्यसका साथै मधेश पनि मौन छ । राज्यका लागि हाँसी फाँसी चढेका दुर्गानन्द झाको ५० औं पुण्यतिथी धुमधामका साथ मनाउनुपर्ने थियो तर मधेशी भएकै कारणले विभेद भएको हो । अहिले पनि केही विग्रेको छैन । मधेशले बृहत कार्यक्रम गर्नुपर्छ । बरु मलाई नै त्यसको संयोजक बनाई दिनुपर्छ र राज्यलाई हलाउने गरी दुर्गानन्द झाका लागि कार्यक्रम गर्नुपर्छ । म प्रधानमन्त्रीको प्रेस सल्लाहकार थिए चाहेको भए दुर्गानन्द झालाई सहिद घोषणा गराउन सक्थे । तर म पनि सत्तामा रुमलिए । सिहदरवार आउँ जाउँमै समय वित्यो । मलाई पनि कसैले त्यसबेला सम्झाएन, कसैले दवाव दिएन ।’
उहाँले मधेशवादी दलहरु पनि सरकार थिए तर उहाँहरुको वुद्धिपनि त्यहाँसम्म पुगेन । अर्को कुरा मधेशमा अध्ययन अनुसन्धान अन्वेषन हुनु आवश्यक रहेको जोड दिँदै मधेशका पहिलो सहिद को हुन् भने कुरा हालसम्म अध्ययन भएको छैन । सबैले आआफ्नो छोरा छोरीलाई डाक्टर इन्जिनियर बनाउन चाहन्छन् अध्ययन अनुसन्धानमा कसैले लगाउँदैन । मधेशमा अध्ययन हुने कुरा धेरै छन् र त्यसका लागि पनि जनशक्ति तयार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
नेतृ पुष्पा ठाकुरले राजा महेन्द्रमाथि बम प्रहार गरेर दुर्गानन्द झा प्रथम सहिद बन्ने अवसर प्राप्त गरेको बताउँदै त्यो आफ्नो लागि, आफ्नो परिवारका लागि गरेका होइन, समग्र देशका लागि गरेको बताउनुभयो । उहाँले देश र जनताका लागि सहादत दिएका दुर्गानन्द झा सहिद घोषणा गर्न नसक्नु दुर्भाग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, दुर्गानन्द झाले महेन्द्रमाथि बम प्रहार गरेर भारत भाग्नु भएको थियो तर उहाँ चाहेको भए त्यतै बस्न सक्नु हुन्थ्यो तर उहाँ नेपाल आउनु भयो । र, मृत्यूवरण गर्नुभयो यो पनि उहाँको माहानता नै थियो । कायर जस्तो बस्न चाहनु भएन वीरतापूर्वक जस्तो गरेको कार्यलाई त्यसैगरि स्विकार गर्नुभयो ।’
Source: Suresh ji